आफ्नो बाबा मन्त्री भएकोमा पूर्वमिस नेपाल श्रृंखला खतिवडाले खुशी व्यक्त गरेकी छन् ।
४ पटक सांसद भइसकेका खतिवडा यसअघि नेकपा एमालेमा छँदा कहिल्यै पनि मन्त्री भएका थिएनन्।
केपी शर्मा ओली पक्षले अरुलाई नै मन्त्री बनाउँदा खतिवडा ओझेलमा पर्दै आएका थिए। माधव नेपाल नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) बनेपछि सोही पक्षलाई समर्थन गरेका खतिवडा पार्टी गठनको डेढ महिनामै पहिलो पटक मन्त्री भएका छन्।
पढाईको सिलसिलामा हाल अमेरिकामा रहेकी श्रृंखलाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बाबालाई बधाई तथा सफलताको शुभकामना दिएकी छन्।
नेपालको स्वास्थ्य क्षेत्रमा बाबाको नेतृत्वमा परिवर्तन आउने उनले अपेक्षा गरेकी छिन्।
श्रृंखलाले स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो बाबाले राम्रो काम गरे आफू नै सबै भन्दा ठूलो प्रशंसक हुने तथा नराम्रो गरे ठूलो आलोचक बन्ने पनि उल्लेख गरेकी छन।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकिकृत समाजवादी)मा सांसद विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका हुन्।
को हुन विरोध खतिवडा?
हाल माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीका उपमहासचिव समेत रहेका खतिवडा ६१ वर्षका भए। यसअघि उनी केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा थिए।
खतिवडाको जन्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मा भएको हो। उनले कानुनमा स्नातकसम्म गरेका छन्। खरो भाषण गर्ने र स्पष्ट वक्ताको पहिचान बनाएका खतिवाड प्रतिनिधिसभामा हाल मकवानपुर २ को प्रतिनिधित्व गर्छन्।
२०३५ सालमा अनेरास्ववियु काठमाडौँ जिल्लाको अध्यक्षबाट राजनीति सुरु गरेका उनले पछि नेकपा एमालेका विभिन्न विभागमा सक्रिय भएर काम गरे। खतिवडाले २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समेत खतिवडा निर्वाचित भए।
पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा उनी १२ पटक गरी जेल बसेका थिए। उनी बार एसोसिएसनको सदस्य समेत हुन्।
हाल कोरोना महामारीको प्रकोप कायमै रहेको सन्दर्भमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका खतिवडाका सामू स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधार, थुपै्र काम र चुनौती छन। आगामी दिनले उनको कार्यकालको समिक्षा गर्दै जाने छ।