लिथुआनियाको रक्षा मन्त्रालयले आफ्ना सबै नागरिकलाई चिनियाँ फोन तुरुन्तै फाल्न र अब नयाँ नकिन्न चेतावनी दिएको छ ।त्यहाँको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले यसअघि चीनले निर्माण गरेका फाइभजी मोबाइल फोनको परीक्षण गरेको थियो ।
केन्द्रले एउटा शाओमी फोनमा स्थायी ‘सेन्सरसीप टुल्स’ र अर्को हुवावेको मोडलमा सुरक्षासम्बन्धी गम्भीर समस्या देखा परेको जनाएको छ। ‘हाम्रो सुझाव भनेको चिनियाँ फोन किन्दै नकिन्नु हो । र, कसैले पहिले नै किनिसकेको छ भने छिटोभन्दा छिटो त्यसलाई फालिदिने या चलाउन बन्द गर्ने हो’, डेपुटी रक्षामन्त्री मार्गरिस अबुकेभिसिअसले भने । यता, हुवावेले प्रयोगकर्ताका कुनै डाटा कतै नपठाइने दाबी गरेको छ भने शाओमीले पनि सञ्चारमा सेन्सर नलगाइने स्पष्टीकरण दिइरहेको छ ।
शाओमीको ‘एमआई टेन–टी फाइजजी’ फोनमा यस्तो सफ्टवेयर फेलापरेको छ, जसले ‘फ्री तिब्बत’, ‘लङ लिभ ताइवान इन्डिपेन्डेन्स’, ‘डेमोक्रेसी मुभमेन्ट’ जस्ता चीनमा विवादास्पद मानिने शब्दहरू पत्ता लगाई सेन्सर अर्थात् प्रतिबन्ध गराउन सक्ने त्यहाँको रक्षा मन्त्रालयको रिपोर्टले जनाएको छ ।
यस किसिमका ४४९ शब्द या वाक्यका अंशहरूलाई शाओमी फोनको सिस्टम एपले इन्टरनेट ब्राउजरबाट समेत सेन्सर लगाउन सक्ने बताइएको छ । यसअघि, युरोपमा निर्यात गरिएका मोडलहरूमा यो फिचर ‘स्वीच अफ’ गरिएको थियो । तर, त्यो सिस्टम कुनै पनि बेला सक्रिय गराउन सकिने रिपोर्टको तर्क छ ।
शाओमीकी प्रवक्ताले यसले प्रयोगकर्ताका व्यक्तिगत व्यवहारमा कुनै किसिमको हस्तक्षेप, ब्लकिङलगायत नगर्ने गरेको दाबी गरेकी छन् । त्यस्तै, शाओमीको डिभाइसले फोन प्रयोगकर्ताका ‘एन्क्रिप्टेड डाटा’ सिंगापुरमा रहेको आफ्नो सर्भरलाई पठाउने गरेको पनि पाइएको थियो ।
केन्द्रले भनेको छ, ‘यो डाटा केवल लिथुआनियाका लागि मात्र नभएर शाओमीका उपकरण प्रयोग गर्ने सबै देशका लागि महत्वपूर्ण जानकारी हुनेछ ।’ शाओमी कम्पनीले सस्तोमा राम्रो प्राविधिक फिचरयुक्त मोडल ल्याएर लोकप्रियता कमाउँदै आएको छ । अघिल्लो वर्षको तुलनामा यसले आफ्नो दोस्रो क्वार्टरको आम्दानी ६४ प्रतिशतले वृद्धि गरिसकेको छ ।
यता, हुवावेको ‘पी ४० फाइभजी’ फोनमा पनि समस्या देखिएको रिपोर्टमा उल्लेख छ । यसले प्रयोगकर्तालाई साइबर सुरक्षा उल्लंघनको खतरामा पारिदिने बताइएको छ ।