श्रीलंकामा कोरोनाबिरुद्ध जडिबुटीयुक्त औषधी विकास गरेको दाबी गर्ने एक ‘डाक्टर’ को कोभिडकै कारण मृत्यु भएको छ। ६ महिनाअघि आफूले कोभिडको औषधी पत्ता लगाएको बताएपछि एलियान्था ह्वाइट श्रीलंकामा चर्चामा आएका थिए।
उनले मह र जाइफल मिसाएर आर्युबेदिक औषधी तयार गरेका थिए। उनको औषधीलाई त्यहाँको स्वास्थ्य मन्त्रालयलेसमेत अनुमोदन गरेको थियो। त्यस्तै, उनको औषधीबाट भारतका खेलाडीको उपचार भएको दाबी गरिएको थियो।
आफूलाई सपनामा देवताले जाईफल र महको औषधीले कोभिडले छुन नसक्ने उनले दाबी गरेका थिए। तर, उनको औषधी सेवन गरेकी स्वास्थ्यमन्त्री पभिथ्रा वान्निआरच्चीलाई नै कोभिड पोजेटिभ देखिएको थियो। पभिथ्रा दुई सातासम्म आईसीयूमा भर्ना भएकी थिइन्। उनले वर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई समेत कोभिड नियन्त्रणबारे सल्लाह दिन्थे।
४८ वर्षीय ह्वाइटले खेलाडी र उच्च राजनीतिक नेतालाईसमेत औषधी दिएका थिए। आफूले विकास गरेको औषधीलाई नदीमा खन्याएमा श्रीलंका र छिमेकी भारतमा कोभिड महामारी अन्त्य हुन सक्ने उनले दाबी गरेका थिए।
धेरै भारतीय क्रिकेटरलाई उपचार गरेको बताएपछि उनी पछिल्लो समय चर्चामा थिए।
तर, उनको उपचार विधिलाई चिकित्सकहरुले अस्वीकार गरेका थिए। आफ्नो घुँडाको उपचार गरेपछि सन् २०१० मा क्रिकेट बादसाह सचिन तेन्डुलकरले उनलाई सार्वजनिक रुपमै धन्यवाद दिएका थिए।
ह्वाईट यसै महिनाको सुरुमा कोभिड संक्रमणबाट बिरामी परेका थिए। तत्काल अस्पताल लगिएका उनको अवस्था नाजुक बनेको थियो। श्रीलंकामा कोभिडबाट अहिलेसम्म १२ हजार जनाको मृत्यु भइसकेको छ।