सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत बझाङको शुर्मा–४ का ७७ वर्षीय पुरुष र शुर्मा–२ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले प्रेस नोट जारी गर्दै दुई सङ्क्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
अस्पतालको प्रयोगशालामा सोमबार थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६२ जनाको नमुनाको परीक्षण गरिएकोमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै १२६ नमुना नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ जना सङ्क्रमित निको भई घर फर्किएका छन् । हाल अस्पतालमा ९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये चार जनाको आइसियु र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।