नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।
भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले यी पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ। एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।
५ महिनामा ८ पटक बढ्यो इन्धनको मूल्य
२०७८ सालयता नेपालमा इन्धनको मूल्य ८ पटक बढिसकेको छ । २०७८ साल बैशाख ४ गते बढेर लिटरमा १ रुपैया बढेर १२१ भएको पेट्रोलको मूल्य जेठ २ मा बढेर १२३ भएको थियो ।
जेठ २२ मा १२५ भएको मूल्य आन्दोलनपछि घटाउने सहमति भएको थियो । नेपाल आयल नियमको तथ्याङ्क हेर्दा असार ९ गते १२७ कायम भएको पेट्रोलको मूल्य असार २२ गते प्रतिलिटर १२९ कायम गरिएको थियो ।
असार ३० गतेदेखि १२८ रुपैँया तोकिएको पेट्रोलको मूल्य भाद्र ८ गते देखि १३० रुपैँया पुगेको छ ।