टाउकोमा नाम्लो । पिठ्युमा ठुलो जार । बाटैमा हिड्दै गर्दा उनले भनिन तल नहरमा पानी लिन जान लागेको । उनी, अर्थात् कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बान्द्रेगडाकी नन्दा बोहरा ।
नन्दाका अनुसार उनको वस्तीमा खानेपानी सुविधा नभएकाले आधा घण्टा हिँडेर नहरबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । उनले भनिन– यही कतै (बन्द्रागडा) मा खानेपानीको आयोजना बन्दै छ भन्ने सुन्दैछौं, खै कहिले पुग्ने हो खानेपानी ?’सोही वडाको हार्टखोलीकी दिपादेवी साउँद सिँचाईंका लागि बनाइएको कुलोबाट जर्किनले गाइगोरु खानका लागि बनाइएको कुँडोको भाडोमा पानी भर्दै थिइन् । उनले भनिन हामी त यो कुलोको पानी खाँदैनौ, तर गाई गोरुका लागि यही पानी प्रयोग गर्छौ ।’ उनले पनि वस्ती भरी खानेपानी समस्या रहेको गुनासो गरिन् ।
बान्द्रेगडाका देवबहादुर नेपालीले भने– यहाँ खोलाबाट पानी बोकेर ल्याएर खानुपर्ने अवस्था छ ।’ उनले वस्तीमा राखिएको धाराहरूको छेउमा पाइपहरू राखिएको बताए । उनले भने तर, ती पाइपमा कहिलेकाँही मात्र पानी आउने गर्दछ । उनले सिँचाईंका लागि बनाइएको नहरबाटै पानीको व्यवस्था वस्तीमा पुर्याइएको बताए ।
साविकको गोदावरी गाविस वडा नम्बर ८ (हाल वडा नम्बर ४) को हार्टखोली, बन्द्रागढा, फूलबस्ती, बुढीतोला लगायतका बस्तीका मानिस खानेपानीको सुविधा नहुँदा खोला, नहर तथा मुलको पानी पिउन बाध्यता रहेको वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए ।
हार्टखोली, बन्द्रागढाका वस्तीमा खानेपानीको व्यवस्था नभए पनि ठाउँ–ठाउँमा धाराहरू बनाइएको छ । तर, ती धारामा पाइप जोडिएका छैनन् । सिमेन्टले बनाइएको धारामा टुटी समेत जोडिएको छैन ।उनले भने साविकको गोदावरी गाविसका पहाडी क्षेत्रका स्थानीयहरूको खानेपानीको समस्या समाधान गर्न लागिरहेका छौं ।’ सो वडामा झण्डै दुई हजार एक सय बढी घरधुरी रहेका छन ।उनले पहाडी क्षेत्र भएकाले भुमिगत प्रविधिबाट खानेपानीको व्यवस्था गर्न सम्भव नरहेकोले लिफ्ट प्रविधिबाट खानेपानीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने ‘बन्द्रागढामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट भुमिगत प्रविधिबाट पानीको व्यवस्था गर्न कार्य अघि बढाइएको छ । त्यहाँ अहिले बोरिङ गाँडिसकिएको छ ।’ सो आयोजना पूर्ण भए झण्डै तीन सय घरधुरी लाभान्वित हुने छन ।
नगरपालिकाले अहिले बुढीतोलामा लिफ्ट खानेपानी आयोजनाको कार्य अघि बढाएको छ । उनले भने बुढीतोलामा खानेपानीको व्यवस्था गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।सो आयोजना कहिले सम्पन्न हुन्छ अहिले भन्न सकिदैन ।
आयोजनाको काम अघि बढाउने अहिले उपभोक्ता समिति गठन गरिएको छ ।बुढीतोलाको आयोजनाबाट पाँच सय घरधुरी लाभान्वित हुने अनुमान गरिएको छ ।