नेकपा एमाले झापाका पूर्व अध्यक्ष रविन कोइरालाले पनि आफू माधव नेपालको पार्टीमा नरहेको स्पष्ट पारेका छन् । लामो समय माधव झलनाथ समूहसँग निकट रहेका कोइरालाले उनीहरूको साथ छोडेको बताएका छन् ।
कोइरालाले भने ‘माधव कमरेडलाई पार्टी विभाजन नगरौं भनेर सम्झाएको मान्नुभएन । मैले विभाजनलाई साथ दिन सकिन ।’
कोइरालाको नाम नेपालले बनाएको केन्द्रीय समितिमा छ । ‘म लामो समयदेखि माधव झलनाथको विचार समूहमा थिएँ । तर, एमाले विभाजन गर्ने उहाँहरुको विचारलाई मैले साथ दिन सकिन । म पार्टीको मुलधारमै छु’ कोइरालाले भने, ‘२०५४ सालमा भएको एमाले विभाजनबाट हामीले धेरै कुरा सिक्नु पर्दछ ।’
मेचीनगर नगरपालिकाका पूर्व मेयर कोइराला २०५४ सालको विभाजनमा नेकपा मालेतिर लागेका थिए । कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा झापा १ बाट काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई चुनाव हराएका हुन् ।