सप्तकोसी नदीमा पानीको बहावमा यस वर्षकै उच्च पुगेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन सुधीर साफीका अनुसार मङ्गलबार साँझ यस वर्षकै उच्च बहाव मापन गरिएपछि ३२ वटा ढोका खोलिएको छ ।
सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३ हजार पाँच सय १५ क्युसेक पुगेपछि ५६ वटा ढोकामध्ये ३२ वटा ढोका खोलिएको साफीले जानकारी दिए । कोसीमा आज विहानबाट वहाव निरन्तर बढ्दो क्रममा देखिएको छ ।
पूर्वी पहाडी भेगमा वर्षा जारी रहेकाले नदीको जलस्तरमा वृद्धि भइरहेको अनुमान गरिएको छ । सप्तकोसी नदीमा असारको १९ गते यस वर्षको सबैभन्दा बढी वहाव मापन भएको थियो । त्यसबेला नदीको वहाव दुई लाख ३१ हजार ६ सय ५५ क्यूसेक प्रतिसेकेण्ड रहेको थियो ।
कोशीको वहावमा वृद्धि भएपनि सबै स्पर र तटबन्ध भने सुरक्षित रहेको सुनसरी प्रशासनले जनाएको छ । सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु पर्ने बाध्यता छ ।
एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलङ्का टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।