प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन् ।
आइतबार संसद भवनमा विश्वासको मत लिने क्रममा देउवाले १६५ सासंदको मत पाएका छन् । उनलाई नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको सिंगो टोलीले विश्वासको मत दिएको हो ।
विश्वासको मत परिणाम घोषणा गर्दै समामुख अग्निप्रसाद सापकोटाले भने देउवाको पक्षमा विश्वास छ भन्नेमा १६५ मत र विश्वास छैन भन्नेमा ८३ मत प्राप्त भएको र नो भोटमा १ मत खसेको घोषणा गरे । आज विश्वासको मत लिने क्रममा २४९ सासंद मतदानमा सहभागी भएका हुन् ।
सर्वाेच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । धारा ७६(६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको लिनुपर्ने प्रावधान छ । सोही प्रावधाअनुसार देउवाले आज प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् ।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन्। अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन्।