नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाट गरेका छन् । बुधबार विप्लव अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास नै पुगेका हुन् ।
ललितपुरको खुमलटारमा दाहाल र चन्दबीच भेट भइरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी गराइन् । दाहाललाई भेट्न चन्दसहित नेकपा नेता धर्मेन्द्र बास्तोला पनि खुमलटार पुगेका छन् ।
ओली सरकार रहँदा शान्ति प्रक्रियामा हस्ताक्षर गरेका उनले ओली सरकारको बहिर्गमनसँगै अध्यक्ष प्रचण्डलाई भेट्नु अर्थपूर्ण मानिएको छ । ओली सरकारमा शान्ति प्रक्रियामा आउँदा ३ बुँदे सहमति भएको थियो ।
उक्त सहमतिका बुँदामा आफ्ना नेता कार्यकर्ता रिहा गर्न सर्त राखिएको थियो । तर, अहिलेसम्म विप्लव समूहका नेता कार्यकर्ता रिहा भइसकेका छैनन् ।
दाहाल-चन्दबीच लामो समयको अन्तरालपछि औपचारिक रुपमा भेट भएको हो । अराजक गतिविधि गरेको भन्दै नेकपालाई प्रतिबन्ध लगाएपछि चन्द अर्धभूमिगत बनेका थिए । उनी ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा सरकारसँग पार्टीको तर्फबाट ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आएका हुन् ।