माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजलगायत १५ कम्पनीलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालोसूचीमा राखेको छ ।
सम्झौता अवधिमा रासायनिक मल खरिद नगरेको भन्दै अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनीलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ ।
पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले तोकिएको समयमा रासायनिक मल खरिद नगरेपछि कृषि सामग्री कम्पनीले धरौटी रकम जफत गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचिमा राख्न सिफारिस गरेको थियो ।
कृषि कम्पनीको सिफारिसमा उक्त कम्पनीलाई यसअघि नै एक वर्षका लागि कालोसूचीमा राखिएको थियो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।
प्रचण्डका घरबेटी अधिकारीले ठेक्का लिएका धेरै सडक आयोजना समयमै निर्माण सम्पन्न भएका छैनन् । अधिकारीले पहुँचका आधारमा ठेक्का हात पार्दै आएका छन् ।
सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मङ्सिर १६ गतेदेखि लागू हुने गरी एक वर्षका अवधिसम्म कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।