अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा सहयोग गरेको छ ।
नेपाली सेनाका अनुसार अमेरिकाले ‘आउट बोर्ड मोटर’ सहित चारवटा रेस्क्यु बोट (डुंगा) उपलब्ध गराएको हो । ती सामग्री सेनालाई अमेरिकाको रक्षा सहकार्यअन्तर्गत दिइएको हो ।
सेनालाई प्राप्त सामग्रीहरूको १ मिलियन (१० लाख डलर) सहयोग अन्तरगत रहेको अमेरिकी राजदूतावासले जनाएको छ । १० लाख अमेरिकी डलर आजको विनिमयदर अनुसार नेपाली रुपैँया ११ करोड ८६ लाख ३० हजार हुन आउँछ । उक्त १० लाख अमेरिकी डलर अन्तरगत दिएको सहायता रकममा यी ४ वटा डुंगा मात्र हुन वा अन्य सामाग्री पनि छन् भन्ने बारेमा न त नेपाली सेनाले केही बताएको न अमेरिकी राजदूतावासले नै ।
अमेरिकी दूतावासअन्तर्गत रक्षा सहकार्य कार्यालयका प्रमुख मेजर माइकल ह्वाइटले उक्त सहयोग सामग्री नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तान्तरण गरेका हुन् ।
सेनाका अनुसार अमेरिकी सहयोगका डुंगा बाढी–डुबानजस्ता विपद्मा उद्धार तथा राहत कार्यका लागि उपयोगी हुनेछन् ।