पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३ गते पाँचथर जिल्ला अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब दिए ।
स्वास्थ्य समस्याले सताइरहेकै थियो र उनी अस्पताल गएनन् । पीसीआरको रिपोर्ट तीन दिन बित्दा पनि आएन । सिकिस्तै बिरामी परेपछि जेठ ६ गते दिउँसो उहाँलाई पाँचथर जिल्ला अस्पताल पुर्याइयो । कोभिड–१९सँग मिल्ने लक्षण देखिएपछि आकस्मिक कक्षका स्वास्थ्यकर्मीले सोधिखोजी गर्दा उनले स्वाब दिएको पत्ता लाग्यो । हत्तपत्त प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनको रिपोर्टबारे खोजी भयो । रिपोर्ट पोजेटिभ रहेको पाइएपछि जिल्ला अस्पतालकै अस्थायी कोभिड कक्षमा भर्ना गरियो ।
उनको शरीरमा अक्सिजनको उपलब्धता कमजोर रहेको र फोक्सोमा समस्या देखिएपछि तत्कालै थप उपचारका लागि झापा पठाइयो । बिच बाटोमै उनको मृत्यु भयो । “स्वास्थ्यमा समस्या देखिए पनि ढिला गरी अस्पताल आएकाले उहाँलाई रिकोभर गर्न सक्ने सम्भावना अत्यन्तै कम थिए”, उनी भर्ना भएका बखत आकस्मिक कक्षमा ड्युटीमा रहेका अहेब दीपक अधिकारीले भने, “बिरामीको लापरबाहीका कारण गम्भीर समस्या ल्याइसकेकाले केही गर्न सक्ने अवस्था रहेन ।” फोक्सोमा समस्या रहेका ती सङ्क्रमितलाई मद्यपानले सबैभन्दा बढी समस्या पारेको देखियो ।
तेह्रथुमको आठराई गाउँपालिका घर भई फिदिममा बस्दै आएकी ६५ वर्षीया महिलाको अप्पर ग्यास्ट्रोइन्टेस्नल ब्लिडिङ (यूजिआई)का कारण जेठ २८ गते पाँचथर जिल्ला अस्पतालमा मृत्यु भयो । जेठ २५ गते गरिएको एण्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यसमेतमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् तर एक्कासि मुखबाट रगत वान्ता गर्ने समस्या देखिएपछि आफन्तले उनलाई अस्पताल पुर्याए । अस्पतालमा उपचारको प्रयास हुँदाहुँदै उनको ज्यान गयो ।
पाँचथर जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहका अनुसार यूजीआई ग्यास्ट्रिकको अल्सर भई आन्द्रामा प्वाल परेर नाक वा मुखबाट रगत वान्ता हुने समस्या हो । कोभिड–१९को सङ्क्रमणजस्ता जटिल स्वास्थ्य समस्या हुँदा यस प्रकारका रोगले ज्यानै जान सक्छ । नियमित स्वास्थ्य परीक्षण नगर्ने, खानपान नियमित नहुने, औषधि सेवन नगर्ने, अत्यधिक मद्यपान गर्ने जस्ता कारणले कोरोनाभाइरस सङ्क्रमण देखिए पनि मृत्युको कारण अर्कै रहन जान्छ । मृतक महिलामा पनि यसै प्रकारका समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।
कोभिड–१९सँग मिल्ने लक्षण देखिएका स्वास्थ्य समस्या भए पनि जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ का ६३ वर्षीय पुरुषले परीक्षण गर्न मानेनन् । मृतकका आफन्तले उनकै कारण परिवारका अन्य सदस्यसमेतमा सङ्क्रमण फैलिएको भन्दै उनको परीक्षणका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिसमेतलाई गुहारे । परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मीसमेतको आग्रह नमानेका उनलाई ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै जेठ १६ गते घरमै मृत्यु भयो ।
कोभिड–१९का लक्षणसँग मिल्ने लक्षण देखिएकाले मृत्युपश्चात् उनको एण्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । “बिरामीले स्वास्थ्य समस्या नै नबताई, परीक्षण नै नगरी उपचारमा लैजाने कुरा भएन”, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले भने, “परीक्षण गर्नै नपाई उहाँको ज्यान गयो ।” परिवारका सदस्यदेखि स्वास्थ्यकर्मीसमेतको आग्रह अस्वीकार गरी कोरोनाभाइरसको सङ्क्रमणलाई सामान्य रुघाखोकी ठान्ने प्रवृत्तिले उनको ज्यान गएको स्थानीय स्वास्थ्यकर्मी बताउँछन् ।
फिदिम नगरपालिका–७ र ८ रानीटारमा कोरोनाभाइरस सङ्क्रमण निकै व्यापक फैलिइरहेको थियो । विवाह, भोजलगायतका कार्य रोकिएका थिएनन् । सङ्क्रमण दर उच्च थियो । सबैले परीक्षण गराउन नमान्दा सङ्क्रमण नियन्त्रणमा आएको थियो । समयमा परीक्षण नगराएका फिदिम–८ का ६० वर्षीय पुरुष सिकिस्त बिरामी भई असार १ गते जिल्ला अस्पतालमा भर्ना भए । तुरुन्तै एण्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । साँझ ६:३० बजे उनको मृत्यु भयो ।
सोही वडाका दुई जना पुरुषको कोभिड–१९को लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण ज्यान गयो । स्थानीय ६२ र ७२ वर्षीय पुरुषको जेठ २१ गते मृत्यु भयो । यद्यपि उनीहरूमा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण हुन सकेको थिएन । वडा कार्यालयले सङ्क्रमण निकै व्यापक भएको भन्दै परीक्षण गराउन आह्वान गरेको थियो तर सबै स्थानीयवासी यसमा तयार भएनन् ।
“गाउँमा सङ्क्रमण फैलिँदै गएपछि सबैलाई परीक्षण गराउन अपिल गरेको भए पनि सबैको परीक्षण हुन सकेको थिएन”, फिदिम–८ का वडाध्यक्ष शेरबहादुर नेम्वाङले भने, “गाउँमै स्वास्थ्यकर्मीको टोली बोलाएर परीक्षणको प्रबन्ध गरेको थिएँ ।”
परीक्षण नभई एकै दिन एकै वडाका दुई जना पुरुषको मृत्यु भएको घटना सार्वजनिक भयो । कोभिड–१९ का लक्षण देखिए पनि वडाले परीक्षणका लागि गरेको आह्वानमा मृतक सहभागी थिएनन् । मृत्युको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि तनाव भने वडाध्यक्षलाई आइपर्यो । “उहाँहरूको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएन तर कोरोनाभाइरससँग मिल्ने लक्षण भने थिए”, वडाध्यक्ष नेम्वाङको गुनासो छ, “परीक्षणका लागि प्रबन्ध गर्दागर्दै उहाँहरूको दुःखद निधन भयो । मृत्युको कारण अर्कै भएको हुनसक्ने भए पनि समाचार आएपछि हामीले अनावश्यक तनाव भोग्नुपर्यो ।”
वडा कार्यालयले स्थानीय स्तरमै परीक्षणको प्रबन्ध गर्नुका साथै फिदिम गएर परीक्षण गराउन सवारी साधनको प्रबन्धसमेत गरेको थियो । मृतकमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्नेजस्ता स्वास्थ्य समस्या थिए ।
लापरबाही र हेलचेक्र्याइँका कारण ज्यान गएका यस्ता कयौँ उदाहरण छन् । यहाँका गाउँ गाउँमा सङ्क्रमण तीव्र गतिमा फैलिए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाको अवस्था निकै कमजोर छ । कतिपयले अझसम्म मास्कको प्रयोग गर्न, भौतिक दूरीको पालना गर्न, भिडभाड नगर्न तथा भिडभाडमा नजान मानिरहेका छैनन् । यस कारण एक/दुई जना सङ्क्रमितका कारण गाउँभरि नै सङ्क्रमण फैलिएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा आयोजना गरिएका दुई वटा विवाहबाट फैलिएको सङ्क्रमणले उक्त वडाका १५६ जना तथा वडा नं ३ का १९ जनामा सङ्क्रमण पुष्टि भयो ।
लक्षण देखिएका कतिपयले मद्यपान गर्ने, कोरोनाभाइरस सङ्क्रमणलाई मौसमी रुघाखोकीका रूपमा लिने जस्ता समस्याले समयमा सङ्क्रमण फैलने र सङ्क्रमणकै कारण मृत्यु हुने घटना दोहोरिइरहेका छन् । यहाँका बजार तथा ग्रामीण भेगका कैयौँ सर्वसाधारणले अझै पनि कोरोना परीक्षण गर्न मानिरहेका छैनन् । “सबैलाई परीक्षणका लागि तयार बनाउन सकिएको छैन”, हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक चन्द्रप्रसाद घिमिरेले भने, “समुदायमा ब्यापकरुपमा फैलिएको सङ्क्रमण सबैको परीक्षण नगरी नियन्त्रण गर्न सकिदैन् ।” परीक्षण गर्न नमानेकाको कोरोनाभाइरसको लक्षणसँग मिल्ने समस्याबाट मृत्यु भएका घटनासमेतबाट कतिपयले पाठ सिक्न सकिरहेका छैनन् ।
यस्तै परीक्षण गर्न नमानेका तथा सङ्क्रमण पुष्टि भएकाको आवागमन नियन्त्रण हुन सकेको छैन । जस कारण सङ्क्रमण नियन्त्रण हुन सकेको छैन । चालीस दिनदेखि निषेधाज्ञा जारी रहे पनि सङ्क्रमित थपिने क्रम रोकिएको छैन । “चेन ब्रेक हुन नसक्दा सङ्क्रमण नियन्त्रणमा आएको छैन”, मानवअधिकारकर्मी मङ्गल बेघाले भने, “सङ्क्रमण नियन्त्रणका लागि अझै प्रभावकारी चालेर जिल्लावासीको जीवन रक्षा गर्नुपर्छ ।”
मुख्यतः लापरवाहीकै कारण सङ्क्रमण नियन्त्रणमा आउन नसकेको देखिएको छ । जिल्लाका आठ वटै स्थानीय तहले पीसीआर तथा एण्टिजेन परीक्षण गर्न, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न विभिन्न प्रकारले प्रचार–प्रसार गरी सचेतना फैलाउने प्रयास गरिरहेका छन् तर सरकारी निकायका प्रयासलाई सार्थक बनाउन नागरिक स्तरबाट सहयोग मिलेको छैन । नयाँ भेरिअन्टको कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर जिल्लामा सुरुआतमै देखिएको याङ्वरक गाउँपालिकामा करिब तीन दर्जन स्थानीयमा सङ्क्रमण देखिएपछि एक हप्तासम्म सङ्क्रमित देखिएनन् । गाउँपालिकाले प्रचारप्रसार र परीक्षणलाई नियमित बनाइरहेकै थियो तर जेठ तेस्रो सातादेखि सङ्क्रमण व्यापक भयो । याङ्वरकमा मात्रै सङ्क्रमितको सङ्ख्या १६० कटेको छ ।
यहाँ निषेधाज्ञा जारी हुँदा जम्मा ५७ जना सङ्क्रमित थिए तर निषेधाज्ञाकै बिच ४० दिनपछि सो सङ्ख्या बढेर एक हजार ७४८ पुगेको छ । निषेधाज्ञाका समयमा दैनिक औसत ४२ जनामा सङ्क्रमण पुष्टि भइरहेको छ । हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका २२ जनाको मृत्यु भएको छ । मृत्यु दर १.२५ पुगेको छ ।
“मेरो सूचनामा निषेधाज्ञामा बजार र सवारी मात्रै बन्द भए । फिदिममा तासका जमघट भए”, नागरिक अगुवा प्रेम ओझाले भने, “सबै ठाउँ परीक्षणको दायरा बढाउनुपर्ने जरुरी छ । नागरिक स्वयं सचेत नभई महामारी नियन्त्रणमा आउन सक्दैन ।”
ओझाका कुरामा स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीको पनि समर्थन छ । “सरकारी निकायका प्रयासले मात्रै महामारी नियन्त्रण हुन सक्दैन”, सुवेदीले भने, “यसका लागि नागरिक सचेत हुनुपर्छ ।” अधिकांश मृत्युका घटनासमेत लापरबाहीकै कारण भएको पाइएको भन्दै उहाँले सचेततापूर्वक सामूहिक प्रयासबाट सङ्क्रमण नियन्त्रण र मृत्युका घटना रोक्नुपर्ने राय छ ।