
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अभिनेत्री करिश्माले नेताहरूका कारण नेपाल आफ्नो अस्तित्व गुमाउन बाध्य भएको उल्लेख गर्दै त्यसबाट आफू विचलित भएको प्रतिक्रिया दिएकी छन् । नेपाल भन्ने देश स्वतन्त्र र स्वर्ग रहेको भएपनि नेताहरूका कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भएको उनको भनाइ छ ।
‘नेपाल भन्ने एउटा देश थियो, जुन स्वतन्त्र थियो, स्वर्ग थियो तर यहाँका नेताहरूको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो’, उनले लेखेकी छन्, ‘म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भएँ ।’ उनले लेखेको फेसबुक स्टाटस, जस्ताको त्यस्तै मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरू कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउँ ।
गाली खान्छु त्यो पनि थाहा छ । राजनीतिमा अलि सचेत भएको भनेको २०४६ सालको आन्दोलनदेखि हो । त्यो पनि पल्लो घरको अगाडि साथिलाई भेटेर घर फर्कँदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटिपिटी मारेका थिए, त्यो देखेर । त्यो दाइले पर्खाल चढ्ने निकै कोसिस गर्नु भएको रहेछ । पर्खालमा उम्रेको वनस्पतिको डोब त्यो बाटो हिँडदा एकिछन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला ।
शान्ति ! फेरि सुरु भयो जनआन्दोलन । बग्रेल्ती डाँडा ढाकिने गरी छरपस्ट मृत मानव शरीरहरू । टेलिभिजनमा हेर्दा बिहान–बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थ्यो । त्यसपछि त के के हो के के ? दरबार हत्याकाण्ड । त्यति बेलासम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृतिप्रति सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा “चार जात छत्तीस वर्ण ।’ हिन्दू, बुद्धिस्ट, मुस्लिम, किरात, डोम, शिख सबैले सबैको सम्मान गर्थे । पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाई घृणा ग¥यो । हाम्रो देवतालाई ढुङ्गा भन्यो । हामी पञ्चतत्व पूजक हौँ, प्रकृति पूजक हौँ ।
“धर्म निरपेक्ष’’ त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो । तर अब नयाँ कुरा सुरु भयो । मौलिक धर्म मानेर बस्नेहरूलाई समस्या दिन थालियो । २० वर्ष जति भयो । अब हुँदा हुँदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो । भैरव, काली, शिव, गणेश, किन गणहरूको नाम राख्ने भन्ने कुरा आयो । व्यवस्था परिवर्तन भयो । भएपछि रोयल नेपाल भनिएकाहरू हटायौँ । तर हाम्रो आस्था मानिएका ठाउँहरू किन हटाउने ? जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ त्यस्तै हामीलाई पनि हुन्छ होला नि !
अहिलेको अवस्थामा २०११ को जनगणनाअनुसार हिन्दूको ८० प्रतिशतभन्दा माथि छ । हिन्दू धर्मशास्त्रअनुसार सहनु धर्म हो भन्ने मान्यता छ । तर हेर्नु होला अबको दुईवटा जनगणनापछि हिन्दूको सङ्ख्या ८ प्रतिशत हुनेछ । हाम्रो आर्मी दलको नाम “जिजस’’ दल “मेरी’’दल हुनेछ । तथापि, म उनीहरूलाई सम्मान गर्नेछु, किनकि उनीहरू पनि कसैको विश्वास हुन् । मन्दिरहरू १००० वर्षपछि पुरातत्त्व विभागले खोज्नुपर्ने हुनेछ ।
यो नेपालको मौलिकता, कथा काहानीमा खोज्नुपर्ने हुनेछ । आशा छ ८० प्रतिशत हिन्दूहरूलाई यो सब सहन सक्ने साहस भगवान पशुपतिनाथले प्रदान गर्नेछन् । हर हर महादेव ।