मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असंवैधानिक तवर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली काँग्रेसको भातृसंगठन नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो । संविधान विपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जबरजस्त रुपमा संसद विघटन गरेको उनीहरुको आरोप छ । उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
नेविसंघ केन्द्रीय समितिको निर्देशनमा बिभिन्न क्याम्पस अगाडि शनिबार साँझ मसाल जुलुस निकालेको थियो ।
उता धरानका विभिन्न स्थानमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ भने राजविराजमा निषेधाज्ञाको अवज्ञा गर्दै जुलुस निस्केको छ ।
आज ५ वटा राजनैतिक दलका युवा संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।