नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिएका आफ्ना २६ सासंदमध्ये ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । कांग्रेस सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्दा माधव कुमार नेपालसहित नेकपा एमालेका २६ सांसदले हस्ताक्षर पेश गरेका थिए ।
हस्ताक्षर बुझाएका मध्ये केहीले आफ्नो हस्ताक्षर दुरुपयोग भयो भनेको र केहीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन मात्र हस्ताक्षर गरेको बताएकोले ११ जनालाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनीहरुलाई भोलि बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।
नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई स्पष्टीकरण सोधिएको हो ।
यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो । तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो ।