नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईँ लड्ने निर्णय गर्दै सकिएको वैठकमा सहभागी एक नेताले बताए ।
उनका अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसले गरेको छ ।
कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको र थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने उनले बताए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद दोस्रोपटक विघटन गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संसद भंग गर्दै राष्ट्रपति भण्डारीले आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी छिन् ।
नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले १४९ जना सासंदले कानूनी लडाई लड्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा मार्फत थापाले लेखेका छन् ।
१४९ सांसदको ७६(५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुन्छ। अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।