राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्तावको तयारी भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र महाभियोगको तयारीमा जुटेका हुन् । त्यसका लाग काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् ।
प्रचण्डले राष्ट्रपतिलाई महाभियोग लगाउने सम्भावना रहेको बताइसकेका छन् । उनी त्यसकै पक्षमा छन् । राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी पनि काँग्रेस र माओवादीले गरेका छन् ।
संविधानको धारा १०१ मा महाभियोगबारे उल्लेख छ ।
धारा १०१ को उपधारा १ मा लेखिएको छ यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेपछि राजीनामा नदिएको अवस्थामै राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हानका लागि २१ घन्टाको समयमात्र दिई सूचना जारी गरेपछि महाभियोगसम्मको तयारी भएको हो ।
राष्ट्रपतिमाथि महाअभियोग लगाउन विवेकशील साझाको माग
विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवेकशील साझाले तत्काल राष्ट्रपतिमाथि महाअभियोग लगाउन माग गरेको हो । साथै नयाँ सरकार गठन गर्न पनि विवेकशील साझाले बताएको छ ।