राष्ट्रिय सभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डा. खिमलाल देवकोटाले पूर्वगृहमन्त्री रामबहादुर थापालाई पराजित गरेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनमा लज्जास्पद नाटक देखिएको बताएका छन् ।
माधव- नेपाल पक्षलाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै शव्द खर्चेका छन् ।
उनी लेख्छन् ” आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने , कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।”
यस्तो छ पोखरेलको स्टयाट्स
राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य छन् । यस खाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ । पार्टी विरूद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ । आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने , कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।
यद्यपि आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने कुरा आज स्पष्ट भएको छ । विषम अबस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ ।