मोरङको विराटनगरमा कोरोना महामारीको मौकामा कालोबजारी मौलाएको छ । गत २४ वैशाखमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ नक्कली बनाएर बिक्री गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको थियो ।
विराटनगर–४ नोबेल टिचिङ्ग हस्पिटलअगाडि रहेको साथी फार्मेसीका सञ्चालक सोनु आलम र कामदार श्रवणकुमार यादवलाई प्रहरीले नक्कली रेमडेसिभिर बिक्री–वितरण गरेको आरोपमा पक्राउ गरेको हो । सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल २५ हजारसम्म मूल्यमा रेमडिसिभिर भन्दै कारोबार गर्ने गरेको थियो ।
सो घटनाको तीन दिनपछि सोमबार मास्क तथा सेनिटाइजरमा कालोबजारी गरको आरोपमा मास्क तथा सेनिटाइजर बरामद गरेको थियो । सोमबार अनुगमनका क्रममा औषधि व्यवस्था विभाग, विराटनगरका अनुगमन समितिले निशिका अग्रवालले विराटनगरमा सञ्चालन गरेको श्री सर्जिकलमा मापदण्डविपरीतका सेनिटाइजर जफत गरेको थियो ।
‘प्रुलिम’ ब्राण्डको सेनिटाइजरमा अल्कोहलको मात्रा बढी देखिएकोले विभागले नमूना परीक्षणको लागि प्रयोगशालामा पठाएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए । यस्तै सोही फार्मेसीमा अनुगमनको क्रममा लेबल नभएको मास्क बिक्री–वितरण गरेको पाइएपछि ३ हजार पिस मास्क पनि बरामद गरिएको छ । यसैगरी, विराटनगरको अटल फार्मेसीबाट आयुर्वेदिक औषधि इजाजत नलिकन बिक्री–वितरण गरिएको भेटिएको थियो ।
महामारीको रूपमा दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम बढीरहेका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने जनताको स्वास्थ्यलाई लतार्दै स्वास्थ्य सामग्रीमा कालोबजारी हुनेक्रम बढेको हो । पछिल्लो समय कालोबजारीका गुनासो आउन थालेपपछि औषधि व्यवस्था विभागले अनुगमन र कारबाहीलाई तीब्र बनाएको हो ।
((