हिजो काठमाडौं जिल्लामा २ हजार ४०४ कोरोना संक्रमित भेटिए । तर ती संक्रमितमध्ये महिला र पुरुष कति साथै कुन उमेर समूहका कति संक्रमित भेटिए भन्ने बारेमा धेरैले जिज्ञाशा राखेको हुनाले हामीले हिजो भेटिएका संक्रमितहरुको तथ्यांक विश्लेषण गरेका छौं ।
वैशाख १७ गते काठमाडौं जिल्लामा भेटिएका संक्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी छन् । उक्त उमेर समूहका २७६ महिला र ३०८ पुरुष गरी ५८४ जनामा संक्रमण देखिएको छ । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका २४८ महिला र ३०८ पुरुष गरी कूल ५५६ जनामा संक्रमण पुष्टि भएको छ ।
१० वर्षभन्दा कम उमेरका बालबालिकाहरुको ठूलो संख्या पनि पछिल्लो समय संक्रमणको शिकार हुन थालेका छन् । हिजोमात्रै सो उमेरका २८ बालिका र ३० बालक गरी ५८ जनामा संक्रमण देखियो । त्यस्तै १० वर्षभन्दा माथिका तर २० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुमध्ये ७४ बालिका र १०० बालकमा पनि संक्रमण देखिएको छ ।
४१ देखि ५० वर्ष उमेर समूहका १८४ महिला र २६४ पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तैगरी ५१ देखि ६० वर्ष उमेर समूहका १६२ महिला र १६१ पुरुषमा पनि संक्रमण देखिएको छ ।
६० वर्षभन्दा माथिकाहरुमा अन्य उमेर समूह भन्दा कम संक्रमण देखिएको हिजोको तथ्याङ्कले देखाउँछ । ६० देखि ७० वर्षमा १५५ जनामा संक्रमण देखिएको छ जसमध्ये महिलाको संख्या ७४ छ भने पुरुषको संख्या ८१ छ ।
त्यस्तैगरी ७१ देखि ८० वर्ष उमेर समूहका ३६ महिला र ३९ पुरुष गरी ७५ जनामा संक्रमण देखिएको छ भने ८० वर्षभन्दा माथिका १४ महिला र १२ पुरुष गरी २६ जनामा संक्रमण देखिएको छ ।
उमेर समूह नखुलेका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण देखिएको हिजोको तथ्यांकले देखाउँछ ।
यो तथ्यांक विश्लेषण गर्ने विधिको बारेमा जानकारी दिने माइसंसार डटकमका उमेश श्रेष्ठलाई धन्यवाद ।