नेपालमा २५ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभर ८ हजार ७९८ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ४४९ र ८६६ जनाको एन्टिजेन परिक्षण गर्दा ११० गरी कूल २ हजार ५ सय ५९ जनामा भाइरसको संक्रमण देखिएको छ । जसमध्ये महिला १ हजार २३ र पुरुष १ हजार ४२६ छन् ।
अरु दिनहरुमा जस्तै आज पनि काठमाडौं जिल्लामा सबैभन्दा बढी संक्रमित थपिएका छन् । काठमाडौंमा ७६० भक्तपुर जिल्लामा ७४ र ललितपुर जिल्लामा १०६ गरी काठमाडौं उपत्यकामा कूल ९४० जनामा भाइरसको संक्रमण पाइएको छ ।
त्यस्तै बैशाख १५ गतेसम्म लकडाउन गरेको बाँके जिल्लामा ३५४ जनामा भाइरसको संक्रमण पाइएको छ भने त्यसको छिमेकी जिल्ला रुपन्देहीमा २२१ जनामा भाइरसको संक्रमण पाइएको छ । आज २ सय ५३ जना बालबालिका संक्रमण भएका छन् । जसमध्ये ९ वर्ष भन्दा कम उमेरका ५४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसहित कूल कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ जसम्धये २ लाख ७६ हजार ७५५ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार १ सय २२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा ५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।