प्रदेश नं १ को राजधानी विराटनगरमा कोरोना भाइरस संक्रमितको संख्या भयावह अवस्थामा बढ्दै छ । तर, कोरोना सङ्क्रमितको सङ्ख्या जति नै बढे पनि आजसम्म पनि विराटनगरका बजारमा भिडभाड कम छैन । सार्वजनिक समारोह कतिपय अवस्थामा भइरहेका छन् ।
कोभिडको संख्या ह्वात्तै बढ्न थालेपछि बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बैठक बसेको थियो । उक्त बैठकले विराटनगरमा काभिड–१९ संक्रमितको संख्या दिनादिन बढेका कारण केन्द्रको निर्णयबमोजिम काम गर्न स्थानीय पालिकारूलाई निर्देशन दिने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । उनका अनुसार बैठकले होल्डिङ सेन्टस बनाउने निर्णय पनि गरेको छ ।
‘विराटनगरमा होल्डिङ सेन्टरको आवश्यकता देखियो । चाँडै नै होल्डिङ सेन्टसर निर्माण गर्ने निर्णय भएको छ । सीमावर्ती क्षेत्रमा राखिने सो होल्डिङ सेन्टरले कोरोना रोकथाममा केही प्रभावकारी भूमिका खेल्ने अपेक्षा छ,’ केटिएम दैनिकसँग उनले भने ।
यसैगरी उनले कोभिड रोकथामका लागि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको र त्यहाँबाट नेपाल प्रवेश गर्नेका लागि हेल्थ डेस्कमा कोभिड परीक्षण र पोजेटिभ देखिएकालाई आइसोलेसन गर्ने काम पनि भइरहेको बताए ।
यसकारण फैलियो कोरोना
बिहीबार प्रदेश १ मा भेटिएका १ सय ६८ जना नयाँ कोरोना संक्रमितमध्ये विराटनगरका मात्र ९७ जना थिए । मोरङका १ सय ८ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसअघि बुधबार १०३ मध्ये ४१ जना, मंगलबार ९७ मध्ये ४७ जना विराटनगरका थिए । त्योभन्दा अघिल्लो दिन अर्थात सोमबार ५५ जनामा प्रदेशमा संक्रमण देखियो, त्यसमा २४ जना, आइतबार ४३ मध्ये २७, शनिबार ३९ मध्ये १६ र शुक्रबार ३३ जनामध्ये १४ जना विराटनगरका मात्रै थिए ।
हाल बढिरहेको संक्रमितको संख्यामध्ये आधाभन्दा बढी हिस्सा विराटनगरकै छ । यो तथ्यांकले विराटनगरमा कोरोना संक्रमणको दर उच्चस्तरले वृद्धि भइरहेको जनाउँछ ।
एक सातायता विराटनगरमा भयावह रूपमा कोरोना संक्रमण फैलिनुमा चिकित्सकहरूले खुला सीमाका कारण नेपाल–भारत आवत–जावत र दुई केही दिनअघि सम्पन्न विराट गोल्डकप फुटबलको भिड गरी दुईवटा कारणलाई मुख्य मानेका छन् ।
कोसी कोभिड अस्पतालमा संक्रमितहरुको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अहिले संक्रमणमा परेकामध्ये धेरैको ‘ट्राभल हिस्ट्री’ भारतसँग जोडिएको छ । यस्तै दोस्रो नम्बरमा विराट गोल्डकपको भिडमा रमाएकाहरूको संख्या छ । कोसी कोभिड अस्पतालका एक चिकित्सक भन्छन्, ‘हामीले कुराकानीका क्रममा बुझ्दा अधिकांश संक्रमित कि भारतसँग कुनै न कुनै रूपमा जोडिएकाहरु छन्, कि त विराट गोल्डकपको भिडमा सधैं रमाउनेहरु छन् ।’
‘हामीले यी दुई कुरा नियन्त्रण गरौं भन्दा कसैले सुनेन । मुख्यमन्त्री, मन्त्रीहरू सधैं आफै गएर फुटबलमा रमाए । अहिले त्यसको परिणाम देखा पर्न थालेको छ,’ उनले थपे । ती चिकित्सकका अनुसार स्वाव परीक्षणस्थलमा लागेको भिडमा पनि अधिकांश फुटबलबाहेक अन्यत्र कतै नगएको बताउने धेरै छन् ।