कुनै बेला नेपाली भाषामा वर्ष भरी एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुङ्गो थिएन । यो क्षेत्रमा भविष्य खोज्नु नै मूर्खता मानिन्थ्यो ।
त्यही अन्यौलता बिच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेश हमालको फिल्म यात्राले ३३ वर्ष पूरा गरेको छ । यात्रा यति लामो होला भन्ने उनले कल्पनासम्म पनि गरेका थिएनन् ।
तीन दशकमा राजेश हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेता मात्र बनेनन् ‘हिरो’को पर्याय नै बने । आज राजेशले खनेको बाटोमा यात्रा गर्ने अनगिन्ती यात्रीहरू थपिएका छन् । उनी आफ्नो विगतलाई अद्भुत यात्राको संज्ञा दिन्छन् ।
राजेशले फिल्म गर्दा व्यावसायिक मसला फिल्म बन्थे । उनले त्यस्तै फिल्म गरे । पछिल्लो समय यता चरित्र चित्रणका विषय उठ्न थालेका छन् । अभिनेता हमाल त्यो बेला फिल्म गर्दा पनि चरित्रमा मिहेनत गर्ने गरेको बताउँछन् ।
मजदुर को चरित्र गर्न मजदुर सङ्गै १ हप्ता सङ्गत गर्नुपर्ने, समय बिताउनुपर्ने बिचार त्यति बेला थालनी भइसकेको थिएन । तर उनले ‘सेन्स अफ एम्पथी’ प्रयोग गरे ।