नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।
माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’
पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उनले बताए ।
‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ पार्टी अध्यक्ष ओलीतर्फ संकेत गर्दै रावलले भने ।