नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ । यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने बताइएको छ ।
एलपी ग्यास तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको छ ।
जेठयता १४ पटक मुल्यवृद्धि
गत जेठ महिनायता नेपालमा १४ पटक पेट्रोलियम पदार्थको मुल्य बढेको छ ।
२०७७ साल जेठ १६ गते नेपाल आयल निगमले पेट्रोलको मुल्य ९६ डिजेलको मुल्य ८५ मट्टितेलको मुल्य ८५ तोकेको थियो । देश पुरै लकडाउनमा भएर पेट्रोलियम पदार्थको खपत लगभग सुन्य नै भएको थियो ।
असार १६ गते नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५, डिजेल र मट्टितेलमा प्रतिलिटर रु २ का दरले मुल्य बढाएर नयाँ मुल्य सार्वजनिक गर्यो । जसअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १ रुपैंया, डिजेल र मट्टितेलको मुल्य ८७ रुपैंया कायम भयो ।
मुल्य बढाएको १० दिनपछि फेरी असार २६ गते पेट्रोल डिजेल र मट्टितेलमा १/१ रुपैंया बढाएर नयाँ मुल्य कायम भयो । साउन महिनाको तेस्रो सातामा निगमले फेरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर रु २ बढाएर नयाँ मुल्य सार्वजनिक गरेको थियो ।
श्रावणको अन्तिम दिन नेपाल आयल निगमले एक सूचना जारी गर्दै राती १२ बजे अर्थात भाद्र १ गतेदेखि लागू हुने गरी नयाँ मुल्य तोकेको थियो । भाद्र १ गतेदेखि काठमाडौंमा पेट्रोल प्रतिलिटर १०५ रूपैयाँ र डिजेल तथा पेट्रोल प्रतिलिटर ९१ रूपैयाँमा बिक्री भएको थियो ।
भाद्र १६ गते निगमले फेरी पेट्रोलको मुल्यमा २ रुपैंया वृद्धि गर्दै प्रतिलिटर १०७ रुपैंयामा बिक्रि हुने जनाएको थियो । त्यस्तै भाद्र ३१ गते कायम गरिएको मूल्यमा भने पेट्रोलको यथावत तर डिजेल र मट्टितेलमा १-१ रुपैँया घटाइएको थियो ।
असोज १५ मा पनि पेट्रोलको मूल्य यथावत कायम राखेर डिजेल र मट्टितेलमा १-१ रुपैँया घटेको थियो । निगमले प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने भनेतापनि असोजपछि मंसिर २७ गते मात्र मूल्य समायोजन भएको थियो ।
मंसिर २७ गते समायोजन भएको मूल्यमा पेट्रोलमा १ रुपैँया बढाएर लिटरको १०८ पुर्याइएको थियो भने डिजेल र मट्टितेलको मूल्यमा २ रुपैँया बढाएर भाद्र १६ गतेकै मूल्य कायम गरिएको थियो ।
पुष महिनाभरी मूल्य समायोजन नगरेको निगमले माघ ५ गते पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैँया बढाएर नयाँ मूल्य कायम गरेको थियो । पुष ६ गतेदेखि पेट्रोलको मूल्य लिटरको ११०, डिजेलको ९३ र मट्टितेलको ९३ कायम भएको थियो ।
माघको २८ गते पुन तीनवटै पेट्रोलियम पदार्थमा २-२ रुपैँयाको दरले मूल्य बढेको थियो ।
फाल्गुन ४ गते फेरी तीनवटै पेट्रोलियम पदार्थमा २-२ रुपैँयाको दरले मूल्य बढेको थियो । त्यस्तै फाल्गुन १७ गते फेरी तीनवटै पेट्रोलियम पदार्थमा २-२ रुपैँयाको दरले मूल्य बढाएर पेट्रोलको लिटरको ११६ डिजेल ९९ र मट्टितेलको ९९ कायम गरेको नेपाल आयल निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी पुन मूल्य बढाएर डिजेल र मट्टितेलको १०१ त्यस्तै पेट्रोलको ११८ कायम गरेको छ ।