बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागीरथी भट्टको हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम चर्किँदै गएका छन् । बलात्कार पछि हत्या गरेर जङ्गलमा फालेको अवस्थामा शव फेला परेपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार नेपाल विद्यार्थी सङ्घले काठमाडौको पुतिसडकमा दबाबमूलक विरोध प्रदर्शन गरेको छ ।
फेरियो व्यवस्था, फेरिएन छोरीहरूको अवस्थालगायतको नारा सहित बलात्कारीलाई चाँडो समातेर कारबाही गर्न नेविसंघले आग्रह गरेको छ । प्रदर्शनी मार्गबाट सुरु भएको सभा पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
तुलसा पन्तले संयोजन गरेको कार्यक्रममा राजीव ढुङ्गाना, प्रमीला गौतम, धना खतिवडा, दीपक भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए । समाजमा घट्ने यस्ता घटनाहरूलाई जरै देखि उखेलेर फाल्न हरदम तयार रहेको र यथाशीघ्र बलात्कारी पक्राउ गरेर कारबाहीको दाउरामा ल्याउनुपर्ने उनीहरूको भनाई छ । देशमा बलात्कार,कोरोना महामारीलगायतका जोखिम भइरहँदा पनि प्रधानमन्त्रीले यी सबै कुराको बेवास्ता गरेको उनीहरुको भनाई छ ।
सरकार सभा, सम्मेलन तथा कुर्सी जोगाउन नै व्यस्त रहेर अन्य कुरालाई बेवास्ता गरेको नेविसंघको धारणा छ । मुलुक भित्र होस् या बाहिर नेपाली चेली कहीँ पनि सुरक्षित नरहेकोले सबै चेलीको सुरक्षाको माग गर्दै दबाबमूलक कार्यक्रम गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै उनले भने, ‘घटना जहाँ सुकै घटोस् अपराधी जुन सुकै देशका किन नहुन् अपराधीलाई कारबाही हुनुपर्छ।’ केही दिन अघि भारतको विहारमा १२ वर्षीय नेपाली चेलीको सामूहिक बलात्कार, हत्या र प्रहरीकै सहयोगमा प्रमाण नष्ट गर्न जबरजस्ती शव जलाउन बाध्य बनाइएको भन्दै उनको न्यायको लागि पनि आफूहरू लड्ने भट्टराईले बताए ।
कञ्चनपुरकी निर्मला पन्तका हत्यारा लामो समय देखि पत्ता नलागेको अवस्थामा पुनः सोही प्रकृतिको घटना घटेकाले अपराधी उम्किन नपाओस् भन्नका लागि आन्दोलन चर्किँदै गएको हो ।