कोरोना भाइरसबाट नेपालमा थप ३ जनाको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३८२ जनाको नमूना परिक्षण गर्दा २८३ जनामा भाइरसको संक्रमण देखिएको छ ।
योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । अहिलेसम्म २ लाख ६५ हजार ६९ जना भाइरसमुक्त भएका छन् पछिल्लो २४ घन्टामा २४६ जना भाइरसमुक्त भएका हुन् ।
कोभिड खोपको सुभारम्भ
नेपाल कोरोना भाइरसविरुद्धको खोप अभियान सुरुवात भएको छ ।
‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्दै भने “खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसकिन्छ” ।
“कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न, खरीद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिनेछ”, प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि आवश्यक बजेटको तर्जुमासमेत भइसकेको छ ।” शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ ।
यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ । ती सबै अस्पताल प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए ।