आज विभिन्न स्थानमा भएका सडक दुर्घटनामा ५ जनाको निधन भएको छ भने २० जना घाइते भएका छन् ।
एकैदिनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भन्दा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या उच्च छ । आजमात्रै कोरोनाबाट ४ जनाको ज्यान गएको छ भने सडक दुर्घटनाबाट ५ जनाले ज्यान गुमाइसकेका छन् ।
केही समयअगाडी केटिएम दैनिकका लेखक दीपबहादुर बडुवालले कोरोनाबाट डराउनुपर्दैन । सडक दुर्घटनामा जति व्यक्तिको ज्यान जान्छ त्यो भन्दा पनि कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाइरहेका छन् भन्दै लेख लेखेका थिए । पढ्नुहोस् उक्त लेख ।
सिन्धुलीमा सवारी दुर्घटनामा तीनको मृत्यु, १० घाइते
सिन्धुलीको तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो आज दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य पाँच घाइते भएका छन् ।
दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय पृथ्बीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएका छन् ।
घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि उनीहरु घर फर्केको बताइएको छ ।
दुधौली नगरपालिका–४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
डडेलधुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ ।
दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताउनुभयो ।
सवारी दुर्घटनामा तीनको मृत्यु, १० घाइते
सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
दुर्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्वरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने माइक्रो चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।