पूर्वराजा ज्ञानेन्द्र शाहले मेडिसिटी अस्पतालमा उपचाररत राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पूर्वराजा शाहले शुक्रबार साँझ आफ्ना निजी सचिव सागर तिमल्सिनामार्फत लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
‘पूर्व राजाका निजी सचिव सागर तिमिल्सिनाले शुक्रबार साँझ भाउजु (सांसद लिङ्देनकी श्रीमति)लाई फोन गर्नुभएको थियो । राजाले भेट्न आउनु खोज्दै हुनुहुन्छ आउन मिल्छ मिल्दैन भनेर सोध्नुभयो, र मिल्ने भएलगत्तै खबर गर्नु भन्नुभएको छ’ लिङ्देनका स्वकीय सचिव छत्र खडायतले भने ।
पूर्वराजा शाहले लिङदेनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
निमोनियाको संक्रमण र शरिरमा अक्सिजनको लेभल घटेपछि लिङ्देनलाई बिहीबार साँझ ८:३० बजे सेनाको हेलिकप्टरले झापाबाट त्रिभुवन विमानस्थल ल्याएको हो। विमानस्थलबाट सिधै लिङ्देनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो ।
उनकी श्रीमती सीता थापा लिङदेनका अनुसार सांसद लिङदेनको शरिरमा अक्सिजनको लेबल बढेको छ । “उहाँ अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।” टेलिफोन सम्पर्कमा सीताले बताइन् ।
झापामा राप्रपाले मंसिर २० गते आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व उनैले गरेका थिए । त्यसबेला उनी विरामी अवस्थामै हातमा ग्लोब र मुखमा मास्क लगाएर र्यालीमा सहभागी भएका थिए ।
गएको चुनावमा कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका हुन् ।