एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएपछि उनले आफू निर्दोष रहेको बताएका छन् ।
एक पत्रिकासँगको कुराकानीको क्रममा श्रेष्ठले भने ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रह/त्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दु:खी हुनेमध्ये म पनि एकजना हुँ’।
पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।
प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र ह/त्या गर्ने गरी प्रचार भएको बताए ।
नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका छन् ।
कान्छी पत्नीसँग मिलेर नारायणकाजीले रकम खाइदिएको दावी कमानसिंहका निकट आफन्तहरुले गरेका छन् ।
अविवाहित नारायणकाजी विभिन्न तरिकाले चर्चामा आउने गर्दछन् । सांसद्का रुपमा दशैं भत्ता नलिने भनेर केही समयअगाडी चर्चामा आएका थिए तर, दशैं तिहार सकिए लगत्तै उनी र कमानसिंह बीचको लेनदेन प्रकरण सार्वजनिक भएको हो ।
उक्त अडियो भिडियो प्रकरण सार्वजनिक भएपछि कतिले श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाउन माग गरेका छन् । ७० करोड घुस काण्डको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएजस्तै श्रेष्ठले पनि राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने कतिपयको ठहर छ ।