भारतमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप १ हजार ७१ जनाको मृत्यु भएसँगै शनिबार दिउँसोसम्म कुल मृतकको संख्या १ लाखभन्दा बढी पुगेको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ८ सय ७५ जनाको मृत्यु भएको जनाएको छ ।
एकैदिनमा संक्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिनअघिसम्म दैनिक ९० हजार भन्दा बढी मानिस संक्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ ।
सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ७९ हजार ९ सय ७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।यो संख्या विश्वमा सबैभन्दा बढी संक्रमित भएको अमेरिकाको भन्दा झण्डै ११ लाखले कम हो ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमित हुनेको संख्या ७५ लाख ४९ हजार ३ सय २३ पुगेको छ भने यही भारइसको कारण ज्यान गुमाउनेको संख्या २ लाख १३ हजार ५ सय २४ पुगेको छ ।
भारतमा संक्रमितको संख्या बढेपनि ज्यान गुमाउनेको संख्या कम छ । झण्डै ४९ लाख संक्रमित भेटिएको ब्राजिलामा १ लाख ४५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
भारतका कूल संक्रमितमध्ये ५४ लाख २७ हजार ७ सय ६ जना संक्रमणमुक्त भइसकेका छन् भने ९ लाख ४४ हजार ९ सय ६३ जना अझैपनि संक्रमित अवस्थामै रहेका छन् तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
भारतमा अहिलेसम्म ७ करोड ७८ लाख ५० हजार ४ सय ३ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये शुक्रबारमात्रै ११ लाख ३२ हजार ६ सय ७५ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।