सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाए पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण भएपछि होटल सोल्टीको आइसोलेसनमा बसे । मेयर शाक्य परिवारसहित पाँच तारे होटलको आइसोलेसनमा बसे । उनी मात्रै होइन शाक्यसँग पत्नी, छोरीलगायत परिवारका सदस्य पनि बसेका छन् । भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि मेयर शाक्य सोल्टीको आइसोलेसनमा बसेका हुन्। सुविधासहितको ३–४ कोठा लिएर उनी बसे।
होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिरे। स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ ।
उनी सोमवार कोरोना मुक्त भएर घर फर्किसकेका छन् । भदौ १५ गते कोरोना पुष्टि भएको मेयर २८ गते घर फर्किए । यस हिसाबले दैनिक ७५ हजारका दरले १३ दिनको झण्डै १० लाख रुपैयाँ हुन्छ ।
यसबारेमा काठमाडौं महानगरपालिकाले सोमबा एक प्रेस विज्ञप्ती जारी मेयर शाक्य नीजि खर्चमा होटलमा सेल्फ आइसोलेसनमा बस्दै आएको जानकारी गराएको हो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता राजेश्वर ज्ञवलीले एक विज्ञप्ती जारी गर्दै लेखेका छन् “कामनपाका प्रमुख विद्यासुन्दर शाक्य महानगरकै खर्चमा पाँच तारे होटलमा सुविधासम्पन्न आइसोलेसनमा सेन्टरमा बस्दै आएको भनि विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । मेयर शाक्य नीजी खर्चमा होटलमा सेल्फ आइसोलेसनमा बस्दै आउनु भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।”