काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।
मेयर शाक्यलाई कोरोना संक्रमण भएपनि कोरोनाको लक्षण भने देखिएको छैन । कोरोना संक्रमण देखिएपछि उनी कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा बसेका छन् ।
प्रमुख शाक्यले भने, “ग्राण्डीले रिपोर्ट पोजिटिभ आएको जानकारी गराएको छ। स्वाब दिएपछि घरमै थिएँ, अब केही दिन घरमै बसेर काम गर्छु। स्वास्थ्य समस्या छैन । पछिल्लो समय आइसोलेसन सेन्टर निमार्णका लागि छलफल गर्ने, ठाउँ हेर्ने काममा व्यस्त थिएँ। सतर्कता अपनाएको थिएँ तर कहाँबाट सर्यो भन्ने याद भएन।”
उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ।
केही दिनअघि शाक्यले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र कांग्रेसका युवा नेता गगन थापासँग भेटवार्ता गरेका थिए । त्यस्तै केही दिन अघि उपत्यकामा निषेधाज्ञा बढाउनको लागि तीन जिल्लाका सुरक्षा प्रमुख र प्रजिअको बैठकमा मेयर शाक्य पनि सहभागी भएका थिए ।
सोमबारै वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि अहिले दुवै जना ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन् ।
डा. रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘कोरोनाबाट कोही पनि अछुतो छैन्,’ डा. रिजालले भने, ‘सबैको परिवार उच्च जोखिममा छ ।