भारतले कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको छ।
एकै दिन ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उसले नयाँ विश्व रेकर्ड कायम गरेको हो।
कोरोना महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो। भारतले जुलाई १७ मा अमेरिकामा एकै दिन फेला परेका ७७ हजार २ सय ९९ संक्रमित संख्यालाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ।
साढे ७८ हजार भन्दा बढी संक्रमित भेटिँदा ९ सय ४४ जनाको निधन भएको छ ।
भारतमा संक्रमितको संख्या साढे ३५ लाग पुग्न आँटेको छ । आइतबार बिहान २ बजेसम्मको तथ्यांक अनुसार भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३५ लाख ४६ हजार ७ सय ५ पुगेको छ भने ६३ हजार ६ सय ९० जनाको यही भाइरसको कारण ज्यान गइसकेको छ ।
साढे ३५ लाख संक्रमित भेटिँदा २७ लाख १४ हजार ९ सय ९५ जना कोरोनामुक्त भएर घर फर्केका छन् भने भारतका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा ७ लाख ६८ हजार २० जना उपचार गराइरहेका छन् जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रलायले जनाएको छ ।
संक्रमित संख्याको आधारमा पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्।