अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् ।
प्राविधिक संघका पदाधिकारीहरुसँगको एक भेटमा उनले यो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए ।
हमालले आर्थिक अवस्था कमजोर रहेका सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने पनि बचन दिएका छन् ।
संघको प्रस्तावलाई स्विकार्दै हमालले निषेधाज्ञाभन्दा अगाडि सय जना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पछि फेरि विमा पनि गरिदिने बचन दिएका हुन ।
केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने तयारी गरेको छ ।
कोरोनाका कारण हजारौं प्राविधिकहरुको रोजीरोटी गुमेको छ । ५ महिनायता चलचित्र सम्बन्धि कुनै कार्य नहुँदा समस्या भएको हो ।
छायाँकन, प्रदर्शनलगायत चलचित्र उद्योगको विभिन्न गतिविधि रोकिँदा कलाकारलाई धेरै ठूलो असर नपुगे पनि चलचित्रको काममा आश्रित प्राविधिकहरु भने समस्यामा परेका छन् । यो अवस्था लम्बिएमा थोरै पैसा अथवा दैनिक ज्यालामा काम गर्दै आफु र आफ्नो परिवार पाल्दै आएका प्राविधिकहरुको दैनिक गुजारामा समस्या उत्पन्न हुनसक्ने देखिन्छ ।
अहिलेको अवस्था र यसपछि सिर्जित अवस्थाको मारमा सबैभन्दा बढी प्राविधिक पर्ने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासमेत बताउँछन् ।
विपन्न व्यवस्थापन कोष
कलाकारहरुकै सहयोगमा नेपाल चलचित्र प्राविधिक संघ अन्तर्गत विपन्न व्यवस्थापन कोष निर्माण गरेको छ । अहिले त्यही कोषमा राहत स्वरुप नगद तथा जिन्सी सहयोग जम्मा भइरहेको संघका अध्यक्ष तथा कोषका संयोजक लामाले बताए।
कोषमा हालसम्म लाइन प्रोड्युसर गौतम धिमालले रु.२ लाख २५ हजार बराबरको र अभिनेत्री वर्षा राउतले रु.५१ हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएका छन् भने नेपाल उद्योग वाणिज्य महासंघले १० किलो चामलको ५५ प्याकेट र ५५ किलो दाल सहयोग गरेको छ।
सहयोग रकमको घोषणा गर्ने कलाकार र फिल्म क्षेत्रसँग सम्बन्धित अन्य व्यक्तिहरूको संख्या भने बढ्दो छ। अभिनेत्री पूजा शर्माले रु.२ लाख, कलाकार पल शाहले रु.५ लाख एक हजार, निर्माता तथा निर्देशक कृष्ण चापागाईंले रु.१ लाख २५ हजार, निर्माता तथा कलाकार दीपकराज गिरीले रु.१ लाख २० हजार, फिल्म सोसाइटी नेपालले रु.३० हजार, कलाकार पुष्कर राउतले रु.१५ हजार, वितरक गोपालकाजी कायस्थले रु.११ हजार, रिवाज फाउन्डेसनका प्रमुख दुर्गा बिसुरालले रु.२० हजार, चलचित्र छायांकार अर्जुन तिवारीले रु.२० हजार सहयोग गर्ने घोषणा गरेका छन्।