
भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपालले बाढी नियन्त्रणमा सहयोग नगरेको आरोप लगाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भिडियो कन्फरेन्सको क्रममा उनले बिहारको उत्तरी क्षेत्रमा बाढी नियन्त्रण गर्न नेपाली पक्षले सहयोग नगरेको उल्लेख गरेको एनडीटिभीले जनाएको छ। नेपाली क्षेत्रबाट बग्ने नदीले बिहारमा बाढी जाने क्रम बढेको नितिशको भनाइ थियो।
‘अत्याधिक वर्षाका कारण नेपाली क्षेत्रमा रहेको ब्यारेजमा पानीको सतह बढ्दै जाँदा उत्तरी बिहारमा बाढी गइरहेको छ। नेपाल र भारतबीचको सम्झौता अनुसार बिहारको पानी संसाधन विभागले बाढी नियन्त्रणको प्रयास गरिरहेको छ।’ नितिशले भने, ‘तर केही वर्षयता नेपालले हामीलाई बाढी नियन्त्रण गर्न सहयोग गरिरहेको छैन।’
नितिशले मोदीलाई यस विषयमा सहयोग गर्न आग्रह गरेका छन्। नितिशको उक्त अभिव्यक्तिपछि युनेस्कोको अन्तर्राष्ट्रिय जल सहयोगका अध्यक्ष र उपसाला विश्वविद्यालय प्रोफेसर अशोक स्वैनले भारतले बाढी नियन्त्रणमा असफल भएपछि नेपाललाई दोष लगाउने पुरानो खेल फेरि सुरु गरेको टिप्पणी गरेका छन्। ‘नेपालमा रहेको ब्यारेज भारतको नियन्त्रणमा छ र त्यसको व्यवस्थापन पनि भारतले नै गरिरहेको छ।’ स्वैनले ट्वीट गर्दै लेखेका छन्।