कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २ सय ६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ ।
सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १ सय ४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ ।
समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् ।
विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो । हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ ।
उद्धार जारी
विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ । ती मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स १२ हजार ५०१, साउदी अरेबिया ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७ सय ९४, कुवेतबाट ६ हजार ३ सय २९ , कतारबाट ५ हजार २ सय ५१, अफगानिस्तान ३३, ओमान ६ सय ३६, म्यानमार २६, थाइल्याण्ड ३ सय २६, दक्षिण कोरिया ७ सय २०, बङ्गलादेश ८ सय ४१, माल्दिभ्स ७ सय ९, सिङ्गापुर २ सय ९७, हङकङ ८९, पाकिस्तान ७२, बहराइन ९ सय ८०, अमेरिका ४ सय २३, बेलायत २ सय २९, इजरायल १ सय २७, चीन २ सय ८ र टर्कीबाट १ सय १० जना नेपाली स्वदेश फर्किएका छन् ।
फिलिपिन्स २ सय १, स्वीट्जरल्याण्ड १०, इराक ३९, दक्षिण सुडान २ सय ५०, सेन्ट्रल अफ्रिकन रिपब्लिक ६८, श्रीलङ्का पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्याङ्क यकिन छैन ।
विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको श-व स्वदेश ल्याई परिवारलाई बुझाइएको छ । हालसम्म १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये अझै ७६ जनाको श व नेपाल ल्याउन बाँकी छ ।