झापा । मेची अञ्चलकै ठूलो सरकारी अस्पताल मेची अञ्चल अस्पताल भद्रपुरमा अत्याधुनिक मेसिन भित्रिएसँगै बिरामीको सस्तो शुल्कमा सफल उपचार हुन थालेपछि विश्वसनीयता बढेको छ ।
केही वर्ष अघिसम्म विरामी उपचारका लागि जान मान्दैनन् थिए । त्यहाँ राम्रो उपचार हँुदैन भन्ने आम सेवाग्राहीको बुझाई थियो । तर, पछिल्लो समय मेची अस्पतालमा जटिल रोगको पनि सफल उपचार हुन थालेपछि सेवाग्राहीका लागि मेची भरपर्दो अस्पताल बन्न थालेको छ ।
अस्पतालबाट प्रवाह भइरहेको प्रसुति सेवा अझ प्रभावकारी बन्दै गएको छ । सीमित स्रोत साधनका बाबजुद अस्पतालको प्रसुति सेवा भरपर्दो बन्दै गएको हो । अस्पतालको प्रसुति सेवा विभागका अनुसार हाल दैनिक दुईजनासम्म्म बिरामीले प्रसुति सेवा लिँदै आएका छन् ।
गत फागुन महिना अघिसम्म अस्पतालबाट प्रसुति सेवा लिनेको संख्या दैनिक ५–देखि ७ जनासम्म थिए । तर, कोरोनाको जोखिमले गर्दा प्रसुति सेवा लिन आउनेको संख्या केही महिना घटेको अस्पतालकी अप्रेसन थ्रिएटर इञ्चार्ज जुनिका साहले बताइन् । उनका अनुसार असार पहिलो सातादेखि भने फेरि सेवा लिनेहरु बढ्न थालेका छन् । हाल अस्पतालबाट दैनिक दुईतीनजनाले सफल रुपमा प्रसुति सेवा लिइरहेको उनको भनाई छ ।
गत फागुनदेखि साउन २० गतेसम्ममा ३७३ जनाले जटिलतायुक्त प्रसुतिको अप्रेसनद्वारा बच्चा जन्माउने सेवा लिएको अस्पतालको प्रसुति सेवा विभागले जनाएको छ । त्यस्तै, सोही अवधिमा पाठेघर निकाल्ने अप्रेसन ७ सातवटा, सुरक्षित गर्भपतन सेवा १२ वटा, महिलाको परिवार नियोजन अप्रेसन १७ वटा र सामान्य अप्रेसन सेवा ३ वटा रहेका छन् ।
पर्याप्त विशेषज्ञ डाक्टरको अभावमा कोरोनाको यो विषम परिस्थितिमा पनि प्रसुति सेवा भरपर्दो बन्दै गएको हो । अस्पतालको यो पाँच महिने अवधिमा भएको प्रसुति सेवा नेपालकै उच्च भएको दाबी पनि गरिएको छ ।
मेची अस्पतालमा विगत १५ वर्षदेखि निरन्तर सेवा दिइरहेका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जयकुमार ठाकुर नेतृत्वको टीम भएकाले पनि प्रसुति सेवा विश्वसनीय भएको हो । कम बोल्ने तर सेवामा कुनै सम्झौता नगर्ने चिकित्सकका रुपमा उनी चिनिन्छन् ।
डा. ठाकुरकै अगुवाईमा भ्याकुम डेलिभरी सेवा दिने, ओपीडीमा बिरामी जाँच्ने, जबरजस्तीकरणी गरिएका घाइतेको स्वास्थ्य परीक्षण गर्ने, जबरजस्तीकरणी सम्बन्धी जाँच प्रतिवेदन प्रस्तुतीका लागि अदालतसम्म्म जाने काम भइरहेको जनाइएको छ । विशेषगरी आर्थिकरुपले विपन्न झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका जनताले मेची अस्पतालबाट सेवा लिइरहेका छन् ।