कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
तीनजनाको पर्सामै मृत्यु भएको हो भने एकजनाको ललितपुर स्थित पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ५६ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । उनी वीरगञ्जमा रहेको जगदम्बा इन्टरप्राईजेजका सीईओ समेत हुन्।
यस्तै वीरगञ्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको पनि बिहीबार साँझ सोही अस्पतालमा नै निधन भएको हो । ती पुरुषको निधनपछि कोरोना संक्रमणको पुष्टि भएको हो । यस्तै वीरगञ्ज महानगरपालिका – २ का ६५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । उनमा पनि मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको हो।
६५ वर्षका उनी आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए।
त्यस्तै पाटन अस्पतालमा आज ज्यान गुमाउने महिलाको स्थायी ठेगाना वीरगञ्ज महानगरपालिका – ११ भएतापनि उनी ललितपुरको धसिखेलमा बसोबास गर्दै आइरहेकी थिइन् । लकडाउन हुनुभन्दा अगाडै ती महिला वीरगञ्ज गएको थाहा हुन आएको छ । गम्भिर विरामी भएपछि उपचारका लागि वीरगञ्जबाट काठमाडौँ ल्याइएकोमा शुक्रबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
ज्यान गुमाउनेको संख्या ५६ पुग्दा संक्रमितको संख्या १९ सय ७ सय ७१ पुगेको छ जसमध्ये १४ हजार ३ सय ९९ जना निको भएर घर फर्केका छन् ।
शुक्रबार देशभरका प्रयोगशाला १० हजार ७ सय ८६ जनाको नमुना परीक्षण गरिएको छ । जनस्वास्थ्य विज्ञहरुले कोरोनाको परिक्षण दर र दायरा बढाउनुपर्ने माग गरिरहेको बेला कोरोना परिक्षणको दर बढेको हो । दैनिक १० हजारको दरलाई निरन्तरता दिइन्छ वा घटाइन्छ त्यो हेर्न भने केही दिन पर्खनुपर्ने नै हुन्छ ।