
कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएका सीमावर्ती मोरङको सुनवर्षी नगरपालिका-८ का ४५ वर्षीय पुरुषकी पत्नीको रिपोर्ट पनि पोजिटिभ आएको छ ।
स्वाब संकलन गरेर कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणपछि बिहीबार पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषकी ३२ वर्षीया श्रीमतीको पनि रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । संक्रमित महिलालाई कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।
मृतक पुरुष लकडाउनको तीन सातापछि भारतबाट घर आएका थिए । घर आएपछि दुई सातासम्म क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
क्वारेन्टाइनबाट घर गएपछि उनी फेरि भारततर्फ नै गएको खुलेको छ । क्वारेन्टाइनमा बसिसकेपछि ती पुरुष दोस्रो पटक कहिले भारत गए र कहिले फर्किए भन्ने खुलेको छैन । स्थानीय पत्रपत्रिकामा उनी १० दिनअगाडी भारतबाट आएको भनेर समाचार आएतापनि सो कुराको पुष्टि भने भइसकेको छैन ।
दोस्रो पटक भारत गएका उनी उतैबाट संक्रमित भएर आएको हुन सक्ने अनुमान गरिएको छ ।
भारतबाट फर्किएपछि ती पुरुष गएका ठाउँको पहिचान गर्दै को-कोसँग सम्पर्कमा रहने भन्ने बारेमा खोजी थालिएको छ।
विपी प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ भने प्रदेश १ मा पहिलोपटक कोरोना संक्रमितको ज्यान गएको छ । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का हुन् ।