
कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका– ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए । तर, कनकाईमा आएको बाढीले जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा झापा गाउँपालिकाका १ सय ३ घरपरिवार पूर्णरुपमा विस्थापित भए भने सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।
हुलाकी राजमार्गअन्तर्गत कनकाई नदीमा निर्माणाधीन पुलका कारण नदीलाई पूर्वतर्फ मोडेका कारण नदीले बाँध भत्काएको स्थानीय बासिन्दाको भनाइ छ । कनकाई माईमा आएको बाढीले झण्डै तीन सय मिटर बाँध भत्काएर नदीको भङ्गालो बस्ती पस्दा वडा नं १, २ र ७ का अधिकांश बस्ती डुबानमा छन् । डुबानमा परेका बस्तीका १ सय ५ परिवारलाई अहिले उद्धार गर्दै उक्त गाउँपालिकाका विभिन्न विद्यालयमा राखिएको छ ।
नदीको भङ्गालो गाउँपसेपछि वडा नं १ को मिलन बस्ती र वडा नं २ को सडकवारी र वडा नं ७ को टप्पु र कच्चुदहका बासिन्दा पूर्णरुपमा विस्थापित भएका छन् । गत सोमबारदेखि डुबानमा परेका तीन वडाका बासिन्दालाई सुरक्षित स्थानमा सारिए पनि त्यहाँको सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीयवासी हरिनारायण राजवंशीले बताउँछन् ।
गाउँपालिकाको पूर्वतर्फ विरिङ र पश्चिमतर्फ पनि कनकाई माई भएका कारण झापा गाउँपालिकाका केही बस्ती हरेक वर्ष डुबानमा पर्ने गरेका र यस वर्ष कनकाई माइलाई पूर्वतर्फ सोझ्याएका कारण तीन वडा डुबानमा परेको हो । बस्ती छिरेको कनकाई माइको भङ्गालो छेक्न अहिले कनकाई नदीमा अस्थायी रुपमा र्यापर निर्माण गरिएपछि त्यसले मात्र पर्याप्त नहुने स्थानीयवासीको बुझाइ छ ।