अस्पतालकै अधिकारी कोरोना पुष्टि भएपछि पहिचान लुकाएको विराटनगर स्थित विराट नसिंगं होमलाई महानगरपालिकाले सिल गरिदिएको छ ।
अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । अस्पतालका संचालकलाई कोरोना पुष्टि भएपछि अस्पतालले विरामी लुकाएको थियो ।
सहि पहिचान नदिएका कारण प्रहरी र महानगरपालिकाले संक्रमित खोज्दै हिडेका थिए ।
ल्यावमा स्वाव पठाउँदा गलत नाम, ठेगाना र फोन नम्बर पठाइएका कारण कोरोना पुष्टि भएपछि खोजी गर्दा उनी फेला परेका थिएनन् ।
अस्पतालका चिकित्सक र संचालकमा कोरोना पुष्टि भएको खबर फैलिएपछि अस्पतालमा विरामी नआउने हुनाले अस्पतालले संक्रमित लुकाएको हुनसक्न अनुमान गरिएको छ ।
विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।
बुधबार विराटनगर तीनपैनी घर भएका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । अस्पतालले संक्रमितको पहिचान गलत दिएका कारण प्रहरीलाई संक्रमित खोज्न निकै अप्ठेरो परेको थियो ।
बुधबारदेखि प्रहरीले संक्रमित व्यक्तिको खोजी गर्ने क्रममा अस्पतालकै व्यक्ति संक्रमित भएको बिहीबार पत्ता लगाएको हो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमाआकस्मिक बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तत्काल सिल गर्न निर्देशन दिएका हुन् ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले सुचना टाँस गर्दै अस्पताल अनिश्चितकालका लागि सिल गरिएको जानकारी दिइएका हुन् । अस्पतालका व्यवस्थापनका अमित कुशवाहाले कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको स्वाब संकलन र परीक्षणको तयारी भईरहेको बताएका छन् ।