अछाममा बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
बिहीबार जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित रहेको सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीमा कोराना पुष्टि भएको हो ।
बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको चौरपाटी गाउँपालिकाका स्वास्थ्य संयोजक धन बहादुर थापाले बताए ।
उनले भने ‘ती संक्रमित पुरुष चौरपाटी गाउँपालिका–५ लुंग्राका हुन् ।’
असार १९ गते पिसिआर जाँचका लागि ती पुरुषको स्वाब धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
ती कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले बैंक क्षेत्र सील गरी संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी कार्य भइरहेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले बताए ।
पछिल्लो २४ घन्टा १ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालमा ४ हजार ८ सय १० जनाको नमूना परिक्षण गर्दा १ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित भएका व्यक्तिको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
अहिलेसम्म ८ हजार ११ जना संक्रमितहरु निको भएर घर फर्केका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् । सरकारले दैनिक १० हजारको संख्यामा कोरोना परिक्षण गर्ने बताएपनि विगत केही दिनदेखि ४ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ ।