
कुवेतबाट आज (शुक्रबार) फर्किएका ९ जना बालबालिकासहित १४९ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको छ ।
आज नेपाल फर्किएका १४९ जनामध्ये केहीमा कोरोना संक्रमणको आशंका भएपछि सबै खरिपाटीको क्वारेन्टिनमा लगिएको कोभिड–१९ क्राइसिस म्यानेजमेण्ट कमिटी (सीसीएमसी) स्रोतले जानकारी दिएको छ ।
कुवेतमा आममाफीमा सहभागी १ सय ४० महिलासहित २ जना दुई वर्षमुनिका बालबालिका र ७ जना १२ वर्षमुनिका बालबालिकालाई कुवेतले आफ्नै जहाजबाट नेपाल ल्याई दिएको हो । उनीहरुलाई कुवेतले आफ्नै जहाजमार्फत निःशुल्क नेपाल पठाई दिएको हो ।
फर्किएकाहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि प्रदेश अनुसारको होल्डिङ सेन्टरमा लगेर सम्बन्धित जिल्ला पठाइने भए पनि आज फर्कनेमध्ये केहीमा कोरोना संक्रमणको आशंका देखिएपछि उनीहरुलाई सिधै क्वारेन्टिन लगिएको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याई दिएको हो । कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो ।
नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै ३ हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याई दिने छ ।
कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको छ । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २ हजार ९ सय ९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । बिहीबार पनि २ सय ९९ जना नेपाली महिला स्वदेश फर्किसकेका छन् ।
केही समयअगाडी सरकारले चिनमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारकै खर्चमा चिनबाट उद्दार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइमा राखेको थियो ।