ओमानमा कोरोनाबाट प्रभावित नेपालीलाई प्राथमिकतामा आधारमा नेपाल ल्याइने भएको छ ।
जुन १५ अर्थात असार १ गते सलाम एअरले नेपाली लिएर ओमानबाट काठमाडौंको लागि उड्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
उक्त उडानमा नेपाल आउन चाहनेहरुले आफैंले टिकट काट्नुपर्ने एक सूचना जारी गर्दै दूतावासले जनाएको छ ।
दूताबासका अनुसार नेपाल आउन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन समेत अनुरोध गरेको छ ।
कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कल सेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
नेपाल फर्कने नेपालीका लागि सलाम एअरले १ सय १५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार १ सय ६ रुपैयाँ भाडा तोकेको छ ।
पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वारेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जानकारी दिएको छ ।