
कुवेतबाट नेपाली नागरिक बिहीबारमात्र स्वदेश फर्कने भएका छन् । त्यहाँबाट दुई वटा उडानमार्फत तीन सय जना नेपाली नागरिक नेपाल फर्कँदैछन् ।
बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको थियो ।
कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समय मिलाउन कठिन भएको थियो । दुवैतर्फको सहमतिमा बिहीबार दिउँसोको समयमा दुवै जहाज अवतरण हुने भएको छ ।
जस अनुसार कुवेतको जजिरा एयरलायन्सको दुई जहाजमा त्यहाँबाट नेपाली नागरिक आउँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ । पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ ।
नेपाल सरकारले पनि कोरोनाका कारण विदेशमा समस्या भोगिरहेका नेपालीलाई स्वदेश फर्काउने बताए पनि अहिलेसम्म कसैलाई ल्याएको छैन । सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काउने बताए पनि ठोस रुपमा कार्यान्वयन भने भइसकेको छैन ।
कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काई दिन लागेको हो ।
आममाफीमा नेपालीसहित अरु देशका नागरिक पनि सहभागी भएका छन् । उनीहरुलाई कुवेतले यसअघि नै स्वदेश फर्काएको छ ।
नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने छ । गएको अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका छन् ।
उनीहरु कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई ल्याई दिन तयार थियो ।
यस्तै अस्ट्रेलियामा समस्यमा परेका ११ नेपाली पनि बुधबार नै नेपाल फर्कने भएका छन् । यूएईबाट भने आउने, नआउने टुंगो लागिसकेको छैन । यसअघि म्यानमार र दुवई सरकारले १९४ नेपालीलाई आफै नेपाल ल्याई दिएका थिए ।
नेपाल सरकारले पनि कोरोनाका कारण विदेशमा समस्या भोगिरहेका नेपालीलाई स्वदेश फर्काउने बताए पनि अहिलेसम्म कसैलाई ल्याएको छैन । सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काउने बताए पनि ठोस रुपमा कार्यान्वयन भने भइसकेको छैन ।