
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ४ लाख भन्दा बढी ज्यान गइसकेको छ ।
नेपाली समयअनुसार आइतबार बेलुका ९ बजेसम्मको तथ्यांकअनुसार कोरोनाको कारण ज्यान गुमाउनेको सङख्या विश्वभर ४ लाख ३ हजार ८० पुगेको छ भने सङक्रमितको संख्या ७० लाख २८ हजार २० पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी १ लाख १२ हजार १ सय ४१ कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख ९३ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित भएको राष्ट्र ब्राजिलमा ६ लाख ७७ हजार ५ सय ५३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
ब्राजिलमा आइतबारसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको सङख्या ३६ हजार ६२ पुगेको वर्लडमिटर डट इन्फोको तथ्यांकले देखाएको छ ।
त्यसैगरी रूसमा ४ लाख ७७ हजार ५ सय ५३ र स्पेनमा २ लाख ८८ हजार ३ सय ९० व्यक्ति सङ्क्रमित भएका छन् ।
बेलायतमा २ लाख ८६ हजार १ सय ९४ जना सङ्क्रमित हुँदा ४० हजार ५ सय ४२ व्यक्तिको मृत्यु भएको छ ।
अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुकमा बेलायत भएको छ ।
रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् ५ हजार ८ सय ५९ व्यक्तिको मृत्यु भएको छ ।
यसैबीच कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली भन्दा अघि आएको छ ।
भारतमा आइतबारसम्म २ लाख ५४ हजार २ सय ४२ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने ७ हजार १ सय १७ व्यक्तिको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारत कोरोना भाइरस प्रभावित मुलुकहरूको सूचीमा छैटौं स्थानमा पुगेको छ ।