
शुक्रबारदेखि विदेशमा दुःख पाएका नेपालीको उद्धार सुरु हुने भएको छ ।
शुक्रबार बर्मामा रहेका २६ जना नेपालीलाई स्वदेश फर्काउने तयारी भएको हो ।
काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र बर्माको सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो । यस्तै, यूएईबाट पनि शुक्रबार नै प्राथमिकताको आधारमा केही नेपालीलाई स्वदेश ल्याइने सम्भावना रहेको छ ।
अहिले त्यस विषयमा छलफल भइरहेको र साँझसम्ममा यसबारे टुङ्गो लाग्ने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा तयार गरिएको लिस्टको आधारमा उडान भएमा झण्डै १ सय ७० जना यहाँबाट फर्कने छन ।
यूएईमा २१ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये १८ हजार ७ सय ७२ जनाले स्वदेश फर्कन इच्छा राखेका छन् ।
सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन् ।
केही दिन अघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपाली नागरिकलाई तत्काल स्वदेश ल्याउन सक्ने अवस्था नरहेको बताएका थिए । जेठ ६ गते मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भनेका थिए– ‘भावनामा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने अवस्था आउन सक्छ । केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने ? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा सरकार छैन ।’