
भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक हजारौं नेपाली स्वदेश प्रवेश गरिरहेका छन् ।
भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगर प्रमुख विमल आचार्यले बताए ।
उनले भने, ‘लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पुर्याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनु पर्यो ।’
उनले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताए । सो काम जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै नागरिकलाई सहयोग पुर्याउने जिम्मेवारी आउँदा कतिपय काम सोचेजस्तो हुन नसकेको उनले जानकारी दिए ।
‘एउटा नगरपालिकाले मात्र सबै गर्न सम्भव हुँदैन’, उनले भने, ‘तैपनि हामी जिम्मेवारीबाट कहिल्यै पन्छिएनौँ, भागेनौँ, निरन्तर काममा लागिरहेका छौं’, नगर प्रमुख आचार्यले प्रदेश नं १ मा रहेको पिसीआर परीक्षण गर्ने तीन प्रयोगशालामध्ये एउटा बिग्रिएकाले रिर्पोट आउन ढिला हुँदा समस्या भइरहेको बताए ।
लामो अवधि होल्डिङ सेन्टरमा राख्न सकिने अवस्था नरहेको बताउँदै कतिपय नागरिकलाई सम्बन्धित जिल्लाकै क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गर्ने भन्दै पठाउनुपर्ने बाध्यतासमेत रहेको उनको भनाइ छ ।
मेचीनगरमै प्राइमरी आइसोलेसन
बन्दाबन्दी शुरु हुनुभन्दा हप्ता दिनअघि नै ९३ हजार बढीको पूर्वी नाकामा स्वास्थ्य परीक्षण गर्न सफल झापाको मेचीनगर नगरपालिकाले नगरमै प्राइमरी आइसोलेसन बनाउने तयारी गरेको छ । नगरमै प्राइमरी आइसोलेसन बनाउन तयारी गर्ने प्रदेश नं १ मै मेचीनगर पहिलो नगरपालिका हो ।
नगरपालिकाको वडा नं ११ मा रहेको धाइनजन स्वास्थ्य चौकीमा ३० शैंयाको आइसोलेसनकक्ष बनाउने तयारी गरिरहेको छ । यसअघि सो स्वास्थ्य चौकीलाई क्वारेन्टिन बनाएर भारतलगायत तेस्रो देशबाट आएका नगरवासीलाई राखिएको नगर प्रमुख विमल आचार्यले बताए ।
उनले दिनानु दिनु भारतबाट आउने नेपालीको संख्या बढ्दै गएको र कचनकवल गाउँपालिकाबाट लगिएको १७ बिरामीलाई केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानले रातभर अस्पतालको गेट बाहिर राखिएको खबरले त्रसित भइ प्राइमरी अस्पतालको तयारीमा लागेको बताए ।
‘समस्या बढ्दै जाँदा प्रदेश नं १ को विराटनगर र धरानमा रहेको कोभिड अस्पतालमा भर्ना नपाउने अवस्था आउन सक्छ’, नगर प्रमुख आचार्यले भने, ‘त्यस्तो अवस्थामा कोभिड अस्पतालकै जस्तो सङ्क्रमितले प्राथमिक उपचार पाउने व्यवस्थासहितको प्राइमरी आइसोलेसन कक्षको व्यवस्था नगरमै गर्न लागेका हौं ।’ उनले धरान र विराटनगरकै जस्तो कोभिड अस्पताल नभए पनि जाँच र उपचार चाहिँ नगरकै स्वास्थ्यकर्मीद्वारा गर्न सकिने बताए ।
मेचीनगरमै आइसोलेसन नबनाए भोलिका दिनमा नगरवासीको स्वास्थ्य सङ्कटमा पर्ने देखेर बेलैमा तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताइन् । उनले विश्व महामारीका रूपमा फैलिएको यो कोरोना महामारीसँग जुध्न नगरवासीसहित सबैसँग सहकार्यका लागि नगरपालिकाले हात बढाएको बताइन् ।
उनले आवश्यक स्वास्थ्य सुरक्षणका सामग्री र नगरकै स्वाथ्यकर्मीको टोलीको प्रबन्ध मिलाइरहेको बताउँदै भनिन्, ‘नगरवासीले भोको बस्नुपर्ने र उपचार नपाउने अवस्था सिर्जना हुन दिँदैनौँ, यो हाम्रो बाचा हो ।’